अपांग साइकलयात्री चित्र पौडेलले विगत १० वर्षको अवधिमा ५४ देशमा साइकल कुदाए । एसियाबाट प्रारम्भ भएको उनको यात्राले अझै विश्राम पाएको छैन । यतिबेला कुवेत हुँदै ६ महिना लामो युरोप यात्राको तयारीमा जुटिरहेका पौडेल जाइन्ट ब्रान्डको साइकल कुदाइ रहेका भेटिन्छन् ।
चित्रले बटुलेका अनुभवहरू सुन्नुअघि उनको पृष्ठभूमितर्फ फर्कौं । पाँच वर्षको उमेरमा पोलियो रोगले समातेपछि उनले समयमै उपचार पाएनन् । पौडेल जन्मिएको बयरवन–२, मोरङमा उपचार सम्भव भएन । सन् २००७ मा भारतमा लगेर उनको दायाँ खुट्टाको अप्रेसन गरियो । उनमा साइकल चलाउने हुट्हुटी पहिल्यैदेखि थियो, तर ०५६ मा झापाको लिटल फ्लावर स्कुलबाट एसएलसी दिँदासम्म उनले साइकल चढेका थिएनन् ।
बिर्तामोडको एमआईटी कलेजबाट प्लस टु पढ्दापढ्दै उनी साइकल चढेर विश्व भ्रमण गर्ने सपना बुन्न थाले । त्यसको सुरुवात उनले मेची–महाकाली यात्राबाट गरे । ०५९ सालतिर देशमा संकटकाल थियो । उनी साइकलमा हिँड्दा सुरक्षाकर्मी र माओवादी दुवै पक्षले सोधपुछ गरेर हैरान बनाउँथे । जोखिमपूर्ण अवस्थामा पनि उनले १ हजार ५० किलोमिटरको यात्रा २८ दिनमा पूरा गरेरै छाडे ।
काठमाडौं फर्केर उनले सार्क राष्ट्र घुम्ने योजना बनाए । २०६० माघ १ गते झापाको भद्रपुरबाट उनको विश्व साइकल यात्रा प्रारम्भ भयो । १८ हजार रुपैयाँ पर्ने माउन्टेन बाइक चलाउँदै उनले भारत, पाकिस्तान, बंगलादेश हुँदै सार्क राष्ट्रको यात्रा सम्पन्न गरे । क्रमश: एसियाली तथा मध्यपूर्वी मुलुकहरूमा साइकल चलाए । उनी जहाँ पुग्छन्, पहिलो काम त्यहाँका मिडियासँग अन्तक्र्रिया गर्छन् । आफ्नो यात्राको उद्देश्य बताउँछन् ।
त्यहाँका स्थानीय संस्थाहरूको सहयोग लिएर अपांगहरूको भेला गर्छन् र उनीहरूलाई प्रेरणादायी मन्तव्य दिन्छन् । चित्र सधैं नेपाली टोपी, नेपाल अंकित लोगो तथा पोस्टरहरू बोकेर हिँड्छन् । आफू पुगेका देशका नागरिकलाई उपहार दिन्छन् । उनले अहिलेसम्म ४ वटा साइकल फेरे । उनले भिसा लागेका ४ वटा पासपोर्ट फेरे । यस क्रममा चित्रले १० लाख रुपैयाँ खर्च गरिसकेका छन् जुन रकम शुभचिन्तक नेपाली तथा विदेशीहरूले सहयोग गरेका हुन् ।
पाकिस्तान पुगेका बेला होटलमा खाना खाएपछि उनी एक्कासि बिरामी भए । उनलाई पखाला चल्यो । त्यहाँको अस्पतालमा दुई दिनसम्म उनको उपचार भयो । पछि मात्र उनले थाहा पाए, खानामा बिफ आइटम परेछ । यो नै उनको यात्राको सबैभन्दा दु:खद घटना हो । पपुवा न्युगिनी पुग्दा उनको साइकलमा नेपालको झन्डा देखेर एक व्यक्तिले उनलाई रोके । भारतीय मूलका ती रेस्टुराँ व्यवसायीले उनलाई आफ्नो घर लगे । १५ दिनसम्म मीठो आतिथ्यता पाएका चित्र त्यो घरमा बसेको क्षण कहिल्यै बिर्संदैनन् । बु्रनाई यात्राका क्रममा उनी त्यहाँको एक परिवारसँग नजिकिए । उक्त परिवारमा एक समझदार र सुन्दर युवती थिइन् । दुई दिनसम्म त्यो घरमा बस्दा ती युवती चित्रप्रति आकर्षित मात्र भइनन्, उनले चित्रसमक्ष विवाहको प्रस्ताव नै राखिन् । विवाहपछि दुवै जना विश्व भ्रमण गर्ने र त्यसका लागि चाहिने सबै खर्चको बन्दोबस्त आफैंले गर्ने पनि बताइन् ।
यद्यपि चित्रका लागि त्यो प्रस्ताव स्वीकार्य भएन । किनभने विवाह गर्नुअघि उनले हिन्दू धर्म परिवर्तन गरेर मुसलमान बन्नुपर्ने सर्त थियो । त्यस्तै सम्झनलायक घटना छ, मंगोलिया पुग्दाको । उनी जुन घरमा बास बसे, त्यो घरमा सुन्दर तरुनी छोरीहरू थिए । चित्रलाई उनीहरूले नै मंगोलिया घुमफिर गराए । सबै खर्च बेहोरिदिए । भाषा त बुझिएन तर इसारामार्फत कुराकानी हुन्थ्यो । उनलाई त्यो घर, ती युवती र बसाइ यति मनपर्यो कि घरीघरी त त्यहीं बसौं जस्तो हुन्थ्यो, तर यात्रालाई बीचैमा अधुरो छाडेर गन्तव्य मोड्न मन लागेन ।
इन्डोनेसियाको जाकार्ता पुग्दा ट्रेनको विकल्प थिएन । उनीसँग सानो हाते झोला थियो । यात्रीले पूरै ट्ेरन भरीभराउ थियो । उनले झोला भिरेका थिए । कुन बेला चोरले उनको झोला काटेर लगिदिएछ, पत्तै भएन । पर्स पनि त्यही झोलामा थियो । ट्रेनको भाडा तिर्न बाँकी नै थियो । खल्तीमा पैसा पनि नहँुदा थप छट्पटी भयो । रात परिसक्यो । खाने–बस्ने टुंगो थिएन । त्यो दिन उनले जसोतसो सडकमै रात बिताए ।
बिहान ५ बजेपछि ब्युँझने चित्र आफंैले कालो चिया बनाउँछन् । आफ्नो डेरा नखिपोटबाट सातदोबाटोसम्म मर्निङ वाक गर्छ । कोठामा फर्किएर फेरि दूधको चिया पिउन मन लाग्छ । त्योसँगै काँचो चना र उसिनेको अन्डा छुट्दैन । उनलाई दाल, भात, तरकारी नै मन पर्छ ।
उनी गीत–संगीत कमै सुन्छन् । हलमा गएर चलचित्र हेर्नुभन्दा ल्यापटपमै हेर्न रुचाउँछन् । चित्रले बर्सेनि बुद्ध पूर्णिमाको अवसरमा साइकल र्यालीको आयोजना गर्छन् । पिस टु पिक शीर्षकको उक्त साइकल र्याली लुम्बिनीदेखी सगरमाथा बेस क्याम्पसम्म हुन्छ । यसमा स्वदेशी– विदेशी सबैको सहभागिता रहन्छ ।