२४ वर्षदेखि रेडियो नेपालसँग आबद्ध डा. नवराज लम्साल कवि, गीतकार तथा सञ्चारकर्मीका रूपमा परिचित छन् । मुलुकका ७३ जिल्ला घुमिसकेका लम्सालका ३ सयभन्दा बढी गीत रेकर्ड भैसकेका छन् । लम्सालका दुई कविता–संग्रह (पाइलैपिच्छे सगरमाथा, आगो छोपेर कतिन्जेल), धुनभित्र धुनबाहिर (गीत–संग्रह), उडौं–उडौं लाग्छ (बालगीत–संग्रह) प्रकाशित छन् । उनको धरा महाकाव्य हालै बजारमा आएको छ । लम्सालसँग नरेन्द्र रौलेले गरेको कुराकानी :
‘धरा’ कुन विषयमा केन्द्रित छ ?
मैले जीवनमा कमाएको ज्ञान, अनुभव एवं शिक्षाको त्रिवेणी हो— धरा । एकीकृत रूपमा हेर्दा यो इतिहास, भूगोल र संस्कृतिको संगम पनि हो । यसमा मेरो दस वर्षको मेहनत छ । बहुसंख्यक नागरिकले यसभित्र आफूलाई फेला पार्न सक्छन् । समग्र मुलुक घुम्दा मैले देखेको भूगोल, जात–जाति, संवेदना एवं इतिहास यसमा समेट्ने प्रयास गरेको छु ।
‘धरा’को जन्म कसरी भयो ?
धरा छापिनुअघि पुस्तक लेख्ने, कवि बन्ने मेरो रहर पूरा भैसकेको थियो । अब साँच्चिकै केही विशेष लेख्छु भन्ने थियो । मैले देश लेख्ने अठोट लिएँ । मुलुकका कुना–कन्दरा घुम्दै जाँदा यसैमा ध्यान लगाएँ । एक दशकको मेहनतपछि बल्ल मेरो सपना पूरा भयो । धरामा देश समृद्ध हुने योजना पनि छ ।
७३ जिल्ला घुम्दा कस्तो अनुभव बटुल्नुभयो ?
हाम्रो देश आफैंमा महाकाव्य लाग्यो । जता फर्केर हेर्यो, त्यतै महाकाव्य देखें । मैले त त्यसको केही अंश मात्र टिपेको हुँ । लेख्न बाँकी अझैं अथाह विषयवस्तु छन् । कला, साहित्य, भाषा, संस्कृति सबै कुरामा हाम्रो देश भरिपूर्ण छ ।
गीत र कविता दुवैमा उत्तिकै कलम चलाउनुहुन्छ । यी दुईबीच के भिन्नता छ ?
गीत ह्दयको कुरा हो भने कविता मस्तिष्कको । ह्दय हाबी भयो भने गीत जन्मिन्छ, मस्तिष्क हाबी भयो भने कविता ।
रेडियो नेपालमा कसरी प्रवेश गर्नुभयो ?
२०५० सालमा रेडियो नेपालले पाँचैवटा विकास क्षेत्रमा क्षेत्रीय प्रसारण सुरु गर्यो । त्यो बेला आवेदन मागेको थियो । म प्रतिस्पर्धामा सामेल भएँ र कार्यक्रम सञ्चालकका रूपमा छनौट भएर सुरुका तीन वर्ष सुर्खेत बसें । हाल कार्यक्रम महाशाखा प्रमुखका रुपमा कार्यरत छु ।
कस्ता खाले पुस्तक पढ्न मन पराउनुहुन्छ ?
दार्शनिक र आध्यात्मिक चेतना जगाउने खालका, जुन पुस्तक जीवनमा काम लागोस् । जस्तो कि स्वामी विवेकानन्दका पुस्तक र कालिदासका महाकाव्यहरू । माधवी, प्रेम पिण्ड र यो प्रेम मेरा प्रिय पुस्तक हुन् ।
तपाईंका प्रिय लेखक ?
बीपी कोइराला, पारिजात, इन्द्रबहादुर राई तथा भूपी शेरचन ।
तपाईंले दोहोर्याएर पढेको पुस्तक ?
श्रीमद्भागवत पुराण, राहुल सांकृत्यायनको दर्शन दिग्दर्शन, माधवी र महाभारत यस्तै तीन–चार पटक दोहोर्याएर पढियो । महाभारतमै टेकेर मैले कर्ण महाकाव्य लेखें । स्कुल पढ्दा गौरी र मुनामदन दस पटक भन्दा बढी दोहोर्याइयो होला ।
पुस्तक पढिरहँदा कुनै पात्रसँग प्रेममा पर्नुभयो ?
माधवीको गालव र महाभारतको कर्णसँग । मेरा लागी संसारकै सबैभन्दा प्रिय पात्र हो, कर्ण । म आफूलाई कर्णजस्तै मान्छु । कर्णलाई जन्मनेबित्तिकै खोलामा फालियो । उनी द्रोणाचार्यकहाँ पढ्न गए तर पढ्न पाएनन् । अर्जुनलाई सर्वश्रेष्ठ धनुर्धर घोषित गर्दा उनले प्रतिस्पर्धामै भाग लिन पाएनन् । अन्त्यमा छल गरेर उनलाई मारियो ।
अरूलाई कुन पुस्तक पढ्न सिफारिस गर्नुहुन्छ ?
धार्मिक आँखाले होइन, ज्ञानको आँखाले हेर्दा, वेद पढ्नैपर्ने पुस्तक हो । त्यस्तै महाभारत छुटाउन नहुने पुस्तकमा पर्छ । इतिहास नबुझी वर्तमान बुझिँदैन, जसका लागि बाबुराम आचार्य र बालचन्द्र शर्माका पुस्तकहरू पढ्नुपर्छ ।